
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौं फर्किएको छ। सोमबार राति ९:४५ बजे उडेको विमानले धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास गरे पनि सफल हुन सकेन। त्यसपछि करिब १२ बजे जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरिएको हो।

विमानमा चालक दलसहित ८० यात्रु सवार थिए। जहाज फर्किएपछि केहीबेर यात्रुले असन्तुष्टि जनाएका थिए। विमानमा रहेका सञ्चारकर्मी रोयल आचार्यका अनुसार गन्तव्यमा पुग्न नसक्दा यात्रु अलपत्र परेका थिए।
एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता लिन चाहनेलाई रकम फिर्ता गरिने तथा यात्रा जारी राख्न चाहने यात्रुलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने जानकारी दिएका छन्। अवतरण असफल हुनुको कारण भने खुलाइएको छैन।






































