
हिन्दू धर्मशास्त्रअनुसार साताका प्रत्येक दिन कुनै न कुनै देवताको आराधनासँग जोडिएको हुन्छ। आइतबारलाई विशेष रूपमा सूर्यदेवको पूजा गर्ने दिन मानिन्छ। धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक पूजा–आराधना गर्दा समाजमा आदर, प्रतिष्ठा र आत्मविश्वास वृद्धि हुन्छ। साथै जन्मकुण्डलीमा रहेको सूर्यदोष शान्त हुने मान्यता पनि छ।

पूजा विधिअनुसार आइतबार बिहान सबेरै उठी स्नान गरेर नजिकको मन्दिरमा दर्शन गर्नुपर्छ। त्यसपछि शुद्ध मनले सूर्यदेवलाई जल अर्पण गर्नुपर्छ। पूजा गर्दा रातो फूल, रातो चन्दन, गुडहलको फूल र अक्षता (चामल) चढाउनु शुभ मानिन्छ। गुड वा गुडबाट बनेका मिठाई अर्पण गर्नु पनि उत्तम मानिएको छ।

अन्त्यमा सूर्यसँग सम्बन्धित मन्त्र जप गर्दा आध्यात्मिक शक्ति र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ। श्रद्धा र विश्वासका साथ गरिएको आराधनाले जीवनमा उज्यालो र उन्नति ल्याउने धार्मिक आस्था रहिआएको छ।

































