
भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जित्दै लगातार दोस्रो पटक विश्व विजेता बन्न सफल भएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले ट्रफी उचालेको हो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल खडा गर्यो।

भारतका लागि ओपनर सञ्जु सैमसनले ४६ बलमा ८९ रनको शानदार पारी खेले। अविशेष शर्मा २१ बलमा ५२ रन र इशान किसनले २५ बलमा ५४ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याए। शिवम दुबे र हार्दिक पाण्ड्याले समान १८–१८ रन जोडे।

२५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले राम्रो सुरुवात गर्न सकेन। टिम सिफर्टले २६ बलमा ५२ रन तथा कप्तान मिचेल सेन्टनरले ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। भारतका जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट लिएर भारतलाई ऐतिहासिक जित दिलाए।
































