
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली कांग्रेस बझाङले एक जनामाथि कारबाही गर्दै पाँच जनासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

जिल्ला कार्यसमितिको आइतबार बसेको निर्वाचन समीक्षा बैठकले सुबेडा गाविसका पूर्वअध्यक्ष तथा किसान संघ बझाङका जिल्ला अध्यक्ष रामबहादुर महरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको जनाएको छ। उक्त कारबाही नेपाली कांग्रेसको विधान २०१७ अनुसार गरिएको बताइएको छ।
त्यस्तै आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मर महर, जिल्ला कार्यसमिति सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह तथा तरुण दलका केन्द्रीय सदस्य रवि सिंहसँग स्पष्टीकरण मागिएको छ।
अनुशासन समिति संयोजक बर्कबहादुर रोकायाका अनुसार स्पष्टीकरण चित्तबुझ्दो नआएमा पार्टी विधानअनुसार थप कारबाही गरिनेछ।
यस निर्वाचनमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली उम्मेदवार थिए। तर अन्तिम मतपरिणाममा उनी पराजित भएका थिए।































