कैलालीको गोदावरी नगरपालिकामा भोलिदेखि आधारभूत तह परीक्षा सुरु हुदै, ५ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका क्षेत्रभित्रका विद्यालयहरूमा भोलिदेखि नगर स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण परीक्षा सुरु हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ र चैत्र १२ गतेसम्म जारी रहनेछ।

CP Hospital Dhangadhi

शिक्षा शाखा प्रमुख प्रयागराज जोशीका अनुसार कक्षा ५ मा ५० सामुदायिक र ३२ संस्थागत विद्यालयका २ हजार ६७१ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये संस्थागततर्फ १ हजार ५६८ र सामुदायिकतर्फ १ हजार १०३ विद्यार्थी रहेका छन्। त्यसैगरी कक्षा ८ मा ३२ सामुदायिक र २९ संस्थागत विद्यालयका ३ हजार १३९ विद्यार्थी परीक्षा दिनेछन्।

दुवै तहमा गरी कुल ५ हजार ८१० विद्यार्थी सहभागी हुनेछन्। परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नगर शिक्षा समिति, परीक्षा सञ्चालन समिति, प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरूबाट अनुगमन गरिने व्यवस्था मिलाइएको छ।

परीक्षा सञ्चालनका लागि १४ वटा केन्द्र तोकिएका छन्। भौगोलिक विकटताका कारण तीन विद्यालयमा गृहकेन्द्र व्यवस्था गरिएको छ, जहाँ केन्द्राध्यक्ष र निरीक्षक बाहिरबाट खटाइनेछन्। प्रत्येक २६ विद्यार्थी बराबर एक निरीक्षकको व्यवस्था गरिएको छ।

परीक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भइसकेको र नतिजा प्रकाशन तथा ग्रेड वृद्धी परीक्षाको व्यवस्थापन पनि गरिने जनाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तहको परीक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ।