
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।

धनगढीमा आज बसेको बैठकमा मुख्यमन्त्री शाहले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आदेश दिए। बैठकले बजार अनुगमन र आपूर्ति व्यवस्थालाई अझ प्रभावकारी बनाउने निर्णय गर्यो।

सरकारका सचिव, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारी, नेपाल आयल निगमका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ र ग्यास डिलर्स एसोसिएसनका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले सरोकारवाला निकायले उपभोक्तावादी सङ्घ संस्थासँग सहजीकरण गर्नुपर्ने निर्णय पनि गर्यो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख लक्ष्मीप्रसाद जैसीले हालसम्म ग्यास अभाव नरहेको जानकारी दिँदै डिजेल, पेट्रोल आपूर्ति सहज रहेको बताए। यस पहलले प्रदेशभर आपूर्ति व्यवस्थामा स्थिरता र पारदर्शिता सुनिश्चित हुने अपेक्षा गरिएको छ।
































