
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष नभएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आयोगको प्रतिवेदनले नै यसको निष्पक्षता प्रश्नमा परेको दाबी गरेका हुन्।

पोखरेलका अनुसार आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको थियो। सोही अनुसारको निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ।
उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै यसले राजनीतिक प्रणालीमा चुनौती थपेको उल्लेख गरेका छन्। पोखरेलले यस्तो प्रवृत्ति दीर्घकालीन समाधान नभएको स्पष्ट पार्दै विचारधारात्मक राजनीति नै आवश्यक रहेको बताएका छन्। उनले राष्ट्र र लोकतन्त्र दुवैले आगामी दिनमा चुनौती सामना गर्नुपर्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।







































