
नेपाल सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटन घोषणा गरेको छ। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचनाअनुसार युनियन आजैदेखि भङ्ग गरिएको हो।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी महत्वपूर्ण निर्णय पारित गरेको थियो। सोही निर्णयको बुँदा नं. १२ अनुसार प्रशासनिक सुधारलाई आत्मसात गर्दै युनियनले संरचना समाप्त गर्ने निर्णय गरेको हो।

युनियनले जारी सूचनामा सरकारको निर्णयलाई स्वागत गर्दै संगठन विघटन गरिएको उल्लेख गरेको छ। २०८२ चैत १५ गतेदेखि युनियन औपचारिक रूपमा समाप्त भएको जानकारी दिइएको छ।


































