
गोदावरी नगरपालिका–४ स्थित गोदावरी धामको हनुमान मन्दिर सेवा समितिको पाँचौं साधारण सभा बिहीबार सम्पन्न भएको छ। समितिका अध्यक्ष नरेन्द्र बहादुर शाहीको सभाअध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति एसएसपी दिगविजय सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भए।

साधारण सभामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीयवासी तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा धार्मिक तथा सामाजिक गतिविधिको समिक्षा गर्दै आगामी योजनाबारे समेत छलफल गरिएको जनाइएको छ।
रामजानकी मन्दिर निर्माणमा सहयोग पुर्याएको भन्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीलाई विशेष सम्मान गरिएको थियो। यसले मन्दिर निर्माण तथा संरक्षणमा सुरक्षा निकायको योगदानलाई कदर गरेको आयोजकले बताएका छन्।


हनुमान जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा मन्दिर परिसरमै प्रमुख अतिथि सुवेदीले झन्डोत्तोलन गर्दै धार्मिक उत्सवलाई थप आकर्षक बनाएका थिए। कार्यक्रममा भक्तजनहरूले पूजा–आराधना गर्दै श्रद्धाभाव प्रकट गरेका थिए।
साथै, साधारण सभाबाट आजै नयाँ कार्यसमिति चयन गर्ने तयारी गरिएको जानकारी दिइएको छ। मन्दिरको व्यवस्थापन, संरक्षण र विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गर्न लागिएको समितिले जनाएको छ।






























