
यातायात व्यवस्था कार्यालय धनगढी, कैलालीले ट्राफिक प्रहरीसँगको संयुक्त टोलीमार्फत महेन्द्र राजमार्गअन्तर्गत घोडाघोडी–२ साडेपानी क्षेत्रमा सवारी चेकजाँच गरेको छ। शुक्रवार गरिएको जाँचमा १५३ सवारी साधनको निरीक्षण गरिएको थियो।

यातायात व्यवस्था कार्यालय धनगढीका सूचना अधिकारी सुरेश ओखेडाका अनुसार चेकजाँचका क्रममा नियम उल्लङ्घन गरेका ३६ सवारी साधन कारबाहीमा परेका छन्। ती सवारीबाट ८१ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ तथा नियमावली, २०८० अनुसार सञ्चालन गरिएको अनुगमनमा सवारी दर्ता, अनुमति पत्र, मार्ग इजाजत, सिट क्षमता, भाडा दर तथा संरचनात्मक परिवर्तनलगायत विषय जाँच गरिएको थियो।

नियम विपरीत सञ्चालन भएका सवारीलाई न्यूनतम १ हजार ५०० देखि ७ हजार रुपैयाँसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ। यातायात क्षेत्रको अनुगमन नियमित रूपमा जारी रहने बताइएको छ।






























