
कैलालीको गोदावरी नगरपालिकाले आधारभूत तह (कक्षा ५ र ८) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक नतिजाअनुसार कुल ५८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यस वर्षको नतिजामा केही विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत सफलता हासिल गरेका छन्।

कक्षा ८ तर्फ गोदावरी–२ तेघरीस्थित सैनीक आवासीय महाविद्यालयले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी १०१ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। तीमध्ये ४ जनाले ४.० जीपीए, ८५ जनाले ए प्लस र १२ जनाले ए जीपीए हासिल गरेका छन्।
त्यसैगरी, गोदावरी–२ कै सुप समावेशी आधारभूत विद्यालयले पनि शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। अपांगता भएका बालबालिका अध्ययनरत यस विद्यालयबाट ७ जना परीक्षामा सहभागी भएका थिए र सबै उत्तीर्ण भएका छन्। नगरपालिकाले गृहकेन्द्रको व्यवस्था गरेपछि यो विद्यालयका विद्यार्थी पहिलो पटक परीक्षामा सहभागी भएका हुन्।


ब्राइट स्टार स्कुलबाट सहभागी भएका २५ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् भने भजनदेवी एकेडेमीका १४ जना विद्यार्थीले पनि शतप्रतिशत सफलता हासिल गरेका छन्। जेके सेकेन्डरी स्कुलबाट सहभागी एक जना विद्यार्थी पनि उत्तीर्ण भएका छन्।
नगरपालिकाका अनुसार कक्षा ८ को परीक्षामा ६१ विद्यालयका ३ हजार १३९ विद्यार्थी सहभागी भएका थिए।
त्यसैगरी, कक्षा ५ तर्फ ८२ विद्यालयका २ हजार ६७१ विद्यार्थी सहभागी भएकोमा ५३ विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन्। समग्र नतिजामा सुधार देखिए पनि केही विद्यालयमा अझै सिकाइ सुधारको आवश्यकता देखिएको शिक्षा क्षेत्रका सरोकारवालाहरूले बताएका छन्।
































