
सरकारी सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यसहित निवृत्तिभरण प्रमाणीकरण सम्बन्धी स्वचालित प्रणाली कार्यान्वयनमा आएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा विकसित ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गर्नुभयो ।

यस प्रणालीमार्फत निजामती, शिक्षक, नेपाली सेना र प्रहरीका निवृत्त कर्मचारीले अब घरमै बसेर निवृत्तिभरणसम्बन्धी सेवा लिन सक्नेछन् । सेवाग्राहीले वेबसाइटमार्फत विवरण प्रमाणीकरण, जानकारी प्राप्ति तथा आवश्यक प्रक्रिया अनलाइनमार्फत पूरा गर्न सक्ने व्यवस्था गरिएको छ । प्रणालीमा भिडियो मार्गदर्शनसमेत उपलब्ध छ ।
पहिले वार्षिक रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ भने अब सेवाग्राहीले आफूलाई पायक पर्ने बैंक छनोट गर्न सक्नेछन् । अर्थमन्त्री वाग्लेले करिब ३ लाख ५२ हजार सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । साथै, वार्षिक झण्डै १५ करोड रुपैयाँ कमिसन भार घट्ने र सरकारी वित्त व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।







































