
बैतडीमा सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका २१ लाख आठ हजार ८१० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित ती सामान नियन्त्रणमा लिइएको हो।

आज बिहान करिब ३ बजे भारतबाट ल्याइएका सामानसहित सवारी साधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए। बरामद सामानमा २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री तथा अन्य किराना सामग्री रहेका छन्।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा खटिएको टोलीले जाँचका क्रममा ती सामान फेला पारेको हो। प्रहरीका अनुसार संलग्न व्यक्तिहरू भने टोली देख्नेबित्तिकै फरार भएका छन्।
बरामद सामान र सवारी साधनलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरीले जनाएको छ।






























