नेपाल-चीन सीमा सुरक्षा र व्यापार सहज बनाउन गृहमन्त्री र चिनियाँ राजदूतबीच छलफल

Image
Nisarga Hospital

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चाङ माओमिङले माननीय गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेटघाट गर्नुभएको छ। गृह मन्त्रालयमा आज भएको उक्त भेटमा द्विपक्षीय हित, सुरक्षा र सहयोगका विविध पक्षमा छलफल भएको छ।

CP Hospital Dhangadhi

एक चीन नीति र सुरक्षामा प्रतिबद्धता
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने र नेपाल आफ्नो सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता रक्षा गर्न सक्षम रहेको बताउनुभयो।

अवैध नागरिक निष्कासन र रेलमार्गको विषय
गृहमन्त्रीले नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसिरहेका (ओभरस्टे) चिनियाँ नागरिकहरूलाई निष्कासन गर्ने कार्यमा आवश्यक समन्वय र सहजीकरणका लागि राजदूतसँग अनुरोध गर्नुभयो। साथै, चीनको सहयोगमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्न र नेपाल-चीन जोड्ने रेलमार्ग निर्माण कार्यलाई अगाडि बढाउन समेत उहाँले ध्यानाकर्षण गराउनुभयो।

nawajiwan
Attariya Hospital

सीमा सुरक्षा र तातोपानी नाकाको अवस्था
छलफलमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र नेपालका सुरक्षा निकायको क्षमता विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मालवाहक गाडीहरूको आवगमनमा देखिएको भनिएको असहजताका बारेमा राजदूत माओमिङले स्पष्ट पार्दै चिनियाँ पक्षबाट कुनै अवरोध नरहेको जानकारी दिनुभयो।

भेटघाटको अन्त्यमा दुवै पक्षले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर र मजबुत बनाउँदै लैजाने संकल्प व्यक्त गरेका छन्।