
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सवारीसाधनमा तीन दिनभित्र अनिवार्य रूपमा सिसिटिभी क्यामेरा जडान गर्न निर्देशन दिएको छ। लैङ्गिक हिंसा रोकथाम तथा यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले बुधबार सूचना जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार मन्त्रिपरिषद्को शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार जिल्लाभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा सिसिटिभी तथा ड्यासक्याम जडान अनिवार्य गरिएको हो।

त्यसैगरी सवारीसाधनमा स्पष्ट देखिने गरी भाडादर टाँस्न, चालक–सहचालकले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै जीपीएस ट्र्याकिङ प्रणाली जडान गर्न पनि प्रशासनले निर्देशन दिएको छ।

निर्देशन पालना नगरे कानुनी कारबाही हुने चेतावनी दिइएको छ। कञ्चनपुरमा करिब तीन हजार पाँच सय सार्वजनिक सवारी सञ्चालनमा रहेका छन्। यातायात व्यवसायीले निर्णय कार्यान्वयन गर्न सुरु गरिसकेका छन् भने केही दिनको समयसीमामा सबै सवारीमा उपकरण जडान गर्ने तयारी भइरहेको छ।




























