
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८८ स्थानीय तहलाई कुल ९१ करोड ८० लाख रुपैयाँ समानीकरण अनुदान दिने निर्णय गरेको छ।

आर्थिक मामिला मन्त्रालयका अनुसार उक्त रकम तीन आधारमा वितरण गरिनेछ। जसमा १५ करोड ८१ लाख ६५ हजार रुपैयाँ न्यूनतम अनुदान, ७२ करोड ३१ लाख १५ हजार रुपैयाँ सूत्रमा आधारित र ३ करोड ६७ लाख २० हजार रुपैयाँ कार्यसम्पादन मूल्यांकनका आधारमा छुट्याइएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा ९० करोड रुपैयाँ विनियोजन गरिएको थियो, जसको दुई किस्ता पहिले नै निकासा भइसकेको छ।


अनुदान वितरणमा धनगढी उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको छ, जसले २ करोड ७० लाख ७ हजार रुपैयाँ पाउनेछ। त्यसपछि भीमदत्त नगरपालिकाले २ करोड ४२ लाख ५९ हजार रुपैयाँ प्राप्त गर्नेछ।
सबैभन्दा कम अनुदान साइपाल गाउँपालिकाले ४४ लाख ७७ हजार रुपैयाँ पाउने भएको छ। मन्त्रालयले यसलाई सन्तुलित विकास र स्थानीय क्षमता अभिवृद्धिको आधार मानेर वितरण गरिएको जनाएको छ।





























