
कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा २१ मुक्त कमैया घर परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार, बर्दगोरिया गाउँपालिका, ह्याबिटाट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त सहकार्यमा आवास निर्माण सम्पन्न गरिएको हो।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले आवास उद्घाटन गर्दै मुक्त कमैया, हलिया र कमलरीका लागि सुरक्षित आवास निर्माणमा प्रदेश सरकारले कार्यविधि बनाएर काम अघि बढाएको बताए। उनले तीन तहका सरकारबीच समन्वय भएमा एक वर्षमै आवश्यक आवास निर्माण सम्भव हुने उल्लेख गरे।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीले पुनर्स्थापनालाई प्रभावकारी बनाउन स्थानीय तहलाई पनि कार्यविधि निर्माण गर्न आग्रह गरे। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सबै मुक्त कमैयाको पुनर्स्थापना गर्न प्रतिबद्धता जनाए।

ह्याबिटाट फर ह्युमानिटी नेपालकी पश्चिम प्रमुख पुनिता चौधरीका अनुसार हालसम्म २५२ सुरक्षित आवास निर्माण भइसकेका छन्। कुल १ करोड ४७ लाख ६९ हजार रुपैयाँ लागतमा दुई कोठे, चर्पी र भान्सासहितका घर निर्माण गरी हस्तान्तरण गरिएको हो।





























