
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार भने सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। लगातार बढिरहेको सुनको मूल्यमा आएको यो गिरावटले बजारमा केही राहतको संकेत दिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ, जबकि हिजो यसको मूल्य ५ हजार २० रुपैयाँ रहेको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकै कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो। मूल्य घटेसँगै बजारमा खरिद–बिक्री गतिविधि बढ्ने अपेक्षा गरिएको छ।





























