
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजको पहिलो खेलमा नेपालले यूएईमाथि ३७ रनको शानदार जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमै समेटियो।

यूएईका लागि हर्पित सिंह भाटियाले ३९ रनको सर्वाधिक योगदान दिए। त्यसैगरी कप्तान मोहम्मद वासिमले ३४, अक्षदीप नाथले ३० रन बनाए पनि अन्य ब्याटरहरू सस्तोमै आउट हुँदा टोली लक्ष्यसम्म पुग्न सकेन। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राखे। करण केसीले ४ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि महत्वपूर्ण १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमै अलआउट भएको थियो। उपकप्तान दीपेन्द्रसिंह ऐरीले शानदार ७५ रनको इनिङ खेल्दै नेपालको इनिङ सम्हाले। कुशल भुर्तेलले २४, बसिर अहमदले २० र करण केसीले २२ रनको योगदान दिए।


यूएईका बलर अजय कुमार र जुनेक सिद्दिकीले ३–३ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे।
यो जित नेपालका लागि लिग–२ मा ४ खेलपछि पहिलो सफलता हो। साथै १० महिनापछि घरेलु मैदानमा प्राप्त यो जितले टोलीको आत्मविश्वास थप उचाइमा पुर्याएको छ।
अब नेपालले दोस्रो खेल बुधबार ओमानसँग खेल्नेछ, जसलाई अझ महत्वपूर्ण मानिएको छ।






























