
बाजुरामा पछिल्लो समय किसानहरू स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहिले सडक सञ्जालको अभावका कारण उत्पादन बजारसम्म पुर्याउन कठिन हुँदा स्याउ खेतीप्रति खासै चासो थिएन। तर गाउँगाउँमा सडक पुगेपछि उत्पादन सिधै बजारमा पुर्याउन सहज भएको छ।

बुढीनन्दा नगरपालिका–८ का कृषक चक्रबहादुर कठायतका अनुसार स्याउ खेतीले जीविकोपार्जन सहज बनाउँदै लगेको छ। पहिले अन्नबालीमा निर्भर रहेका किसान अहिले स्याउ खेतीतर्फ मोडिएका छन्। गाडी घरसम्म पुग्न थालेपछि उत्पादन सिधै बजार पठाउन सम्भव भएको उनले बताए।
जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगंगा र खप्तड छेडेदह क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। विशेषगरी बडिमालिका–९ र १० को पाण्डुसैनमा बढी उत्पादन हुने गर्दछ।


कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १७० हेक्टर क्षेत्रमा स्याउ खेती भइरहेको छ। गत वर्ष एक हजार २० मेट्रिक टन उत्पादनमध्ये करिब ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री भएको थियो।
पहिले स्थानीय जातका स्याउ मात्र उत्पादन हुने गरेकोमा अहिले फुजी, गाला र गोल्डेन जस्ता उन्नत जातको उत्पादन बढ्दै गएको छ। अर्गानिक स्याउको माग बढेसँगै किसानको आम्दानी र उत्साह दुवै बढेको छ।































