
नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै बैतडीका विभिन्न सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना बढाउन घरदैलो अभियान थालेका छन्। अभिभावकको घट्दो आकर्षणलाई चुनौतीका रूपमा लिँदै विद्यालयहरूले सम्बन्ध सुधार र शिक्षाको गुणस्तर उकास्ने उद्देश्यसहित अभियान सञ्चालन गरेका हुन्।

दशरथचन्द नगरपालिका–१ का मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं, विरेन्द्र मावि साहिलेक, सूर्नया गाउँपालिका–४ को उदयदेव मावि पालिगडासहित बाशुदेव मावि लिस्कीटा, शंकर संस्कृत मावि मूलखटाली र रौलेश्वर मावि राम्की बरायलले अभियानलाई तीव्र बनाएका छन्।

विद्यालय व्यवस्थापन समिति, शिक्षक र सरोकारवालाको सहभागितामा टोलटोलमा पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद भइरहेको छ। अभियानमार्फत विद्यालयका नयाँ कार्यक्रम, सुधार योजना र उपलब्ध सुविधाबारे जानकारी गराइँदै अभिभावकको विश्वास जित्ने प्रयास भइरहेको शिक्षक धिरबहादुर मडैले बताए।

साथै, अभिभावकबाट सुझाव सङ्कलन गर्दै बालबालिकालाई समयमै विद्यालय भर्ना गराउन आग्रह गरिएको छ। यस अभियानले सामुदायिक विद्यालयप्रति सकारात्मक धारणा विकास भई विद्यार्थी सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ।































