
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी नयाँबस्तीको सरस्वती/शिव टोल क्षेत्रमा बन्द नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण कार्य आजदेखि सुरु गरिएको छ। बन्द नदी उच्च जोखिमयुक्त क्षेत्रमा सरस्वती टोल नयाँबस्ती (राम सिह रावलको घर नजिक) ६३ मिटर र शिव टोल कालिका मन्दिर नजिक (गणेश धामीको घर नजिक) ६३ मिटर गरी जम्मा १ सय २६ मिटर लम्बाइमा तटबन्ध निर्माण भइरहेको वडा अध्यक्ष अर्जुन सिंह साउदले जानकारी दिएका छन्।


वर्षौंदेखि नदी कटानको त्रास झेल्दै आएका स्थानीयवासी अहिले भने तटबन्ध निर्माणसँगै राहत महसुस गर्न थालेका छन्। विशेषगरी स्थानीय गणेश धामी र राम सिह रावलले आफ्नै घरछेउमा तटबन्ध निर्माण भइरहेको दृश्य देख्दा खुसी व्यक्त गर्दै अब बस्ती सुरक्षित हुने र अझै आवश्यक क्षेत्रमा पुग्ने गरि तटबन्ध हुनुपर्ने माग गरेका छन। थोरै भएपनी सुरुवात भयो तर पुग्ने गरि तटबन्ध आवश्यक छ, बन्द नदीमा अझै थप केही क्षेत्रमा तटबन्ध निर्माण हुनुपर्ने स्थानीयहरुले बताएका छन्।
तटबन्ध निर्माण शुभारम्भ भएसंगै बस्ती संरक्षणमा ठोस टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै बन्द नदीका बाँकी कटान जोखिमयुक्त क्षेत्रहरूमा पनि छिट्टै पक्की तटबन्ध निर्माण गरिने वडा अध्यक्ष साउदले बताएका छन्।

सुदूरपश्चिम प्रदेश जलस्रोत तथा सिँचाइ विकास कार्यालय, कञ्चनपुरबाट रु. २५ लाखको लागत अनुमानसहित ठेक्का आह्वान गरिएको उक्त योजना रु. १५ लाखमा रावल निर्माण सेवा प्रा.लि.सँग सम्झौता गरी निर्माण कार्य शुभारम्भ गरिएको जलस्रोत डिभिजन कार्यालयका इन्जिनियर राजेन्द्र नाथले जानकारी दिए।
निर्माण व्यवसायी रेखा रावलका अनुसार आफूले लिएको जिम्मेवारी समयमै सम्पन्न गरिनेछ र तटबन्ध निर्माण कार्य आउँदो जेठको पहिलो साताभित्रै पूरा गरिने लक्ष्य राखिएको छ।
बन्द नदी क्षेत्रमा सामुदायिक विपद् व्यवस्थापन समिति (CDMC) गठन गरिएको छ। NNSWA को प्राविधिक सहयोगमा उक्त समितिले विपद् व्यवस्थापनका विविध कार्यहरूमा सक्रिय रूपमा सहयोग गर्दै आएको छ।
हालै समितिको र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुर को साझेदारी मा २ सय मिटर जैविक तटबन्ध निर्माण सम्पन्न गरिएको छ। साथै, अब छिट्टै कृष्णपुर नगरपालिकाको सहयोगमा थप १ सय मिटर जैविक तटबन्ध निर्माण गर्ने तयारी भइरहेको विपद् व्यवस्थापन समिति अध्यक्ष शिव नेपालीले जानकारी दिएका छन्।
यद्यपि, बन्द नदीको नयाँबस्ती क्षेत्रमा केही स्थानमा तटबन्ध निर्माण भए पनि उच्च कटान जोखिम भएका क्षेत्रहरूमा पर्याप्त तटबन्ध नहुँदा स्थानीयहरू चिन्तित छन्। जोखिम न्यूनीकरणका लागि ती स्थानहरूमा यथाशीघ्र तटबन्ध निर्माण गर्नुपर्ने माग स्थानीयवासीहरूले गरेका छन्।




































