
कञ्चनपुर : लालझाडी गाउँपालिकामा एआई (Artificial Intelligence) प्रविधियुक्त एक्स–रेको माध्यमबाट सञ्चालन गरिएको निःशुल्क क्षयरोग परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। “TB Screening Camp” नाम दिइएको उक्त शिविर मिति २०८३ वैशाख १२ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको हो।

शिविर लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्य चौकी तथा देखभुली स्वास्थ्य चौकी गरी चार स्थानमा आयोजना गरिएको थियो। ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविर अवधिभर कुल ७ सय ४८ जना सेवाग्राहीहरूले एआई एक्स–रेसहितको स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका थिए। परीक्षणका क्रममा ३ जनामा PCD क्षयरोग (Pulmonary Tuberculosis) पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन्।
त्यसैगरी, परीक्षणमा १ सय १५ जना व्यक्तिमा क्षयरोगको लक्षण तथा सम्भावना देखिएपछि थप परीक्षणका लागि छनोट गरिएको थियो। तीमध्ये २३ जनालाई जिन एक्सपर्ट (GeneXpert) परीक्षणका लागि अस्पतालमा प्रेषण गरिएको जनाइएको छ। जिन एक्सपर्ट परीक्षण क्षयरोगको छिटो र प्रभावकारी पहिचानका लागि प्रयोग हुने आधुनिक प्रविधि हो।

स्वास्थ्यकर्मीहरूका अनुसार एआई प्रविधियुक्त एक्स–रे प्रयोग गरिँदा क्षयरोग पहिचान प्रक्रिया अझ छिटो, प्रभावकारी तथा सहज बनेको छ। यसले प्रारम्भिक चरणमै रोग पत्ता लगाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग तथा सहजीकरण गर्ने स्वास्थ्य संस्था परिवार, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा स्वास्थ्य निर्देशनालय दिपायल, डोटीप्रति आयोजक पक्षले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले यस्ता शिविरले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, क्षयरोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा पनि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ।


































