
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशभर मौसममा उल्लेख्य परिवर्तन देखिएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी लगायतका प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। दिउँसो पनि यी प्रदेशहरूमा बदलीको अवस्था कायम रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी र मधेस प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा, साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। यी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।































