
नेपाली कांग्रेसले आगामी शनिबार सुदूरपश्चिम प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले निर्वाचनमा भएका कमजोरी, उपलब्धि र आगामी रणनीतिबारे विस्तृत छलफल गरिने जानकारी दिएका छन्।

कार्यक्रमको उद्घाटन २६ सभापति गनगकुमार थापाले गर्ने बताइएको छ। कार्यक्रममा १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, विजयी प्रतिनिधि, प्रदेश सांसद, जिल्ला तथा क्षेत्रीय सभापति, स्थानीय जनप्रतिनिधि र पालिका सभापतिहरूको सहभागिता रहनेछ।

समीक्षामा कांग्रेस कहाँ चुक्यो र भविष्यमा जनमत विस्तारका लागि कस्तो रणनीति आवश्यक छ भन्ने विषयमा गम्भीर छलफल गरिने छ। सहमहामन्त्री रसाइलीका अनुसार पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा अझ सशक्त बनाउने उपायहरू पनि तय गरिनेछन्।

त्यसैगरी २७ वैशाखमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अर्को कार्यक्रम पनि हुने जानकारी दिइएको छ।






























