गोदावरीमा सिकलसेलको जोखिम बढ्दो : १३१ जनामा प्रारम्भिक चरणमै रोग पहिचान

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १३१ जनामा सिकलसेल रोगको प्रारम्भिक संकेत भेटिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ७, ८ र ९ मा सिकलसेल एनिमिया तथा थालसेमिया पहिचानका लागि तीनदिने ‘स्क्रिनिङ’ अभियान सञ्चालन गरेको थियो।

CP Hospital Dhangadhi

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार शिविरमा ९४१ जनाको रगत परीक्षण गरिएको थियो। वडा नम्बर ७ स्थित जमुनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २३९ जनाको परीक्षण गर्दा ३४ जनामा सिकलसेल ‘ट्रेट’ देखिएको थियो। यस्तै स्याउले स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा ३९९ नमूनामध्ये ६७ जनामा पोजेटिभ रिपोर्ट आएको छ भने बेलादेवीपुर स्वास्थ्य केन्द्रमा परीक्षण गरिएका ३०३ जनामध्ये ३० जनामा रोगको संकेत भेटिएको छ।

Attariya Hospital

प्रारम्भिक चरणमा पोजेटिभ देखिएका सबै नमूनालाई दोस्रो परीक्षणका लागि गेटा आधारभूत स्वास्थ्य सेवा केन्द्र पठाइने जनाइएको छ। दोस्रो परीक्षणमा पनि पुष्टि भए बिरामीलाई आवश्यक उपचार र नियमित निगरानीमा राखिनेछ।

nawajiwan

स्वास्थ्यकर्मीका अनुसार रानाथारु समुदायमा सिकलसेल गम्भीर जनस्वास्थ्य समस्याका रूपमा फैलिरहेको छ। यो वंशाणुगत रोग भएकाले विवाहपूर्व परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको छ। रोग लागेपछि हाडजोर्नी दुख्ने, अत्यधिक थकान, रगतको कमी लगायत समस्या देखिने गर्छन्। सरकारले सिकलसेल रोगीलाई वार्षिक एक लाख रुपैयाँसम्म निःशुल्क उपचार सुविधा उपलब्ध गराउँदै आएको छ।