
कञ्चनपुर मा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तह र सरकारी निकायलाई सक्रिय हुन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले नौ वटै पालिका तथा सम्बन्धित सरकारी कार्यालयलाई पत्राचार गर्दै सार्वजनिक जमिनको पहिचान, यथार्थ विवरण सङ्कलन र अतिक्रमण हटाउने कार्ययोजना तयार पार्न आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापन अभियान अघि बढाइएको हो। प्रशासनले आफ्नो कार्यक्षेत्रभित्र रहेका अतिक्रमित जग्गाको विवरण तत्काल उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेको छ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लाका वन क्षेत्रमा मात्रै करिब छ हजार हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको अनुमान छ। सूचना अधिकारी सुवास कुँवरले वन अतिक्रमण वर्षेनि बढ्दो क्रममा रहेको बताए।

सार्वजनिक सम्पत्तिको संरक्षण, अभिलेख व्यवस्थापन र अवैध अतिक्रमण नियन्त्रणका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच समन्वयात्मक पहल आवश्यक रहेको प्रशासनले जनाएको छ।































