कैलाली–४ का विकास योजना बजेटमा समेट्न प्रदेश सरकारसँग आनन्दको आग्रह

Image
Nisarga Hospital

नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ ले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का बहुप्रतीक्षित विकास योजनालाई आगामी आर्थिक वर्षको प्रदेश बजेटमा समेट्न सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

मंगलबार युवा नेता आनन्द, कैलाली क्षेत्र नम्बर-४ का क्षेत्रीय सभापति बसन्त रोकाया “ललित”, प्रदेश सभा सदस्य तुलसी देवकोटा, क्षेत्रीय सचिव विष्णुप्रसाद भाट, गौरीगंगा नगर सभापति पहलविक्रम चन्द, प्रदेश “क” का सभापति काशीराम शर्मा तथा युवा नेता छत्रबहादुर बमसहितको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, राज्यमन्त्री प्रकाशबहादुर बम तथा सामाजिक विकास मन्त्री मेघराज खड्कासँग भेट गर्दै क्षेत्रका आवश्यकता र विकासका प्राथमिकताबारे ध्यानाकर्षण गराएको हो।

भेटका क्रममा टोलीले विशेषगरी कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा वर्षभरि सहज यातायात सञ्चालन हुने सडक निर्माणलाई प्राथमिकतामा राख्न माग गरेको थियो। वर्षौंदेखि सडक सञ्जालको अभाव र वर्षायाममा हुने यातायात अवरोधका कारण स्थानीय नागरिकले भोग्दै आएको समस्या समाधानका लागि प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिइएको थियो।

nawajiwan

त्यसैगरी किसानलाई केन्द्रमा राखेर आधुनिक कृषि प्रणाली विकास, सिँचाइ विस्तार, कृषि अनुदान, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनसम्बन्धी योजनामा लगानी बढाउन आग्रह गरिएको छ। ग्रामीण क्षेत्रका जोखिममा रहेका बस्तीमा तटबन्ध, स्वास्थ्य सेवा पहुँच विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षा तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई आगामी बजेटमा समावेश गर्नुपर्ने विषय पनि टोलीले उठाएको थियो।

Attariya Hospital

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आनन्दले निर्वाचनको परिणाम जे भए पनि जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नु आफ्नो नैतिक जिम्मेवारी भएको बताए। उनले चुनावी अभियानका क्रममा कैलाली–४ का नागरिकसँग विकास, सडक, कृषि, शिक्षा र रोजगारीका विषयमा गरिएका वाचा कार्यान्वयन गर्न आफू निरन्तर सक्रिय रहेको उल्लेख गरे।

“निर्वाचनमा जित र हार प्राविधिक कुरा हुन्, तर जनतासँग बोलेका कुरा पूरा गर्न पहल गर्नु राजनीतिक जिम्मेवारी हो,” उनले भने, “कैलाली–४ का नागरिकले अपेक्षा गरेका विकास योजनालाई प्रदेश सरकारको आगामी बजेटमा समेट्न आग्रह गरेका छौं।”

नेता आनन्दले सुदूरपश्चिम प्रदेश सरकार कैलालीको दुर्गम चुरे र मोहन्याल क्षेत्रको विकासप्रति सकारात्मक रहेको अनुभूति भएको पनि बताए। प्रदेश सरकारले सुगम जिल्ला मानिने कैलालीभित्र रहेका दुर्गम बस्तीको विकासका लागि विशेष कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्दै उनले आगामी बजेट जनताको आवश्यकता केन्द्रित हुने अपेक्षा गरे।

प्रदेश सरकारसँगको भेटलाई क्षेत्रीय विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रदेश सरकारसम्म समन्वय गरेर विकासका योजना अघि बढाउनुपर्ने आवश्यकता रहेको भन्दै टोलीले कैलाली–४ लाई पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यका हिसाबले नमुना क्षेत्र बनाउने लक्ष्यका साथ निरन्तर पहल जारी रहने जनाएको छ।