
अत्तरियाः धनगढीमा आगामी जेठ २ र ३ गते ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ। सुदूरपश्चिम विकास फाउण्डेसनले आयोजना गर्न लागेको उक्त कार्यक्रम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारमा केन्द्रित रहने जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले कार्यक्रमले सुदूरपश्चिमका सम्भावना र चुनौतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, सुरक्षित आप्रवासन, पूर्वाधार र सुशासनका विषयमा बृहत् बहस गरिनेछ।

कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्षलाई संघीय सरकारसमक्ष पठाई आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउने तयारी गरिएको छ। कार्यक्रममा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी र विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले कार्यक्रमबाट प्रदेशको दीर्घकालीन विकासका लागि व्यवहारिक सुझावसहित ‘सुदूरपश्चिम घोषणापत्र’ सार्वजनिक गरिने जानकारी दिए।






























