
सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउने प्रयास गरेको भन्दै त्रसित बनेका भूमिहीन सुकुम्बासीहरूले कञ्चनपुरको महेन्द्रनगरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बस्ती उठीबास गराउने सरकारी निर्णयविरुद्ध बिहीबार बजार परिक्रमा गर्दै विरोध जनाएका हुन्।
उनीहरूले “जमिन कसको ? जोत्नेको”, “भूमि समस्या समाधान गर”, “सुकुम्बासीलाई लालपुर्जा दे”, “दमन बन्द गर”, “डोजर हामीलाई चाहिँदैन” लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।
भूमिहीन सुकुम्बासी सङ्घका केन्द्रीय सचिव आनन्द धामीले सुकुम्बासी बस्तीमा सरकारी प्रतिनिधि तथा प्रहरीले पटक–पटक सोधपुछ गर्दै हैरानी दिएको भन्दै आफूहरू त्रसित बनेको बताए।
देशव्यापी कार्यक्रमअन्तर्गत महेन्द्रनगरमा पनि प्रदर्शन गरिएको उनले जानकारी दिए।
महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा बसोबास गर्दै आएका करिब ६ सय भूमिहीन सुकुम्बासी पछिल्लो समय त्रसित बनेको उनीहरूको भनाइ छ।


सरकारले न्यायोचित ढङ्गले छानबिन गरेर उचित विकल्प दिएपछि मात्रै बस्ती खाली गराउनुपर्ने माग गरिएको छ।
हाल बसोबास गर्दै आएको स्थानमै जमिन उपलब्ध गराउनुपर्ने वा अन्यत्र उचित विकल्प दिनुपर्ने माग उनीहरूको छ।
बस्ती खाली गर्न सूचना जारी गरिएपछि आन्दोलनमा उत्रिनुपरेको ग्रिन टोलका उपाध्यक्ष मोतीलाल ओडाउले बताए।
उनीहरूले उचित व्यवस्थापनबिना बस्ती उठीबास गराइए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। स्थानीय बासिन्दा र सुकुम्बासी प्रतिनिधिहरूले समस्या दीर्घकालीन रूपमा समाधान गर्न निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग आग्रह गरेका छन् र तत्काल डोजर प्रयोग रोक्दै वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। साथै बस्ती व्यवस्थापनका लागि स्पष्ट नीति बनाउन माग पनि गरेका छन् तत्काल स्थायी समाधान आवश्यक रहेको उनीहरूको भनाइ छ भन्दै उनीहरू बताए ।






























