
निर्माण क्षेत्रमा देखिएको गम्भीर समस्या समाधानमा सरकार उदासीन भएको आरोप लगाउँदै निर्माण व्यवसायीहरू देशव्यापी आन्दोलनमा उत्रिएका छन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको लगातारको मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा परेको भन्दै व्यवसायीहरूले आन्दोलन थालेका हुन् ।

Nepal Construction Entrepreneurs Federation को नेतृत्वमा बिहीबारदेखि देशभरका निर्माण व्यवसायी आन्दोलनमा होमिएका छन् । आन्दोलनअन्तर्गत सरकारी निकायमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने र विरोध प्रदर्शन गर्ने कार्यक्रम सञ्चालन भइरहेको महासंघले जनाएको छ ।
यसै क्रममा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ । प्रदेश अध्यक्ष लक्ष्मण बहादुर स्वारको नेतृत्वमा भएको कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष दीर्घराज जोशीसहितका व्यवसायीहरू सहभागी थिए ।


व्यवसायीहरूले नाराजुलुससहित बजार परिक्रमा गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले इन्धन, ढुवानी, निर्माण सामग्री तथा श्रमिक खर्चमा भएको निरन्तर वृद्धिका कारण परियोजनाहरू प्रभावित भएको बताएका छन् ।
प्रदेश अध्यक्ष स्वारले निर्माण क्षेत्रलाई जोगाउन तत्काल नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए । उनले व्यवसायीका जायज मागप्रति सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरे । व्यवसायीहरूले माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनीसमेत दिएका छन् ।































