
सरकारले यस वर्षको मनसुनजन्य विपदबाट सुदूरपश्चिम प्रदेशमा ३३ हजारभन्दा बढी जनसंख्या प्रभावित हुने आकलन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो लगायतका प्राकृतिक विपद्बाट प्रदेशका ७ हजार ६०३ घरपरिवारका ३३ हजार २२७ जना प्रभावित हुने अनुमान गरिएको हो ।

देशभर भने करिब दुई लाख जनसंख्या मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा तर सरदरभन्दा बढी गर्मी हुने सम्भावना रहेको जनाएको छ ।

कम वर्षा भए पनि उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटनको जोखिम बढ्न सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीजस्ता घटना बढ्न सक्ने चेतावनी दिइएको छ ।

त्यसैगरी तापक्रम वृद्धि हुने सम्भावनाका कारण तराईका भू–भागमा तातो हावाको लहर (लु) ले जनजीवन प्रभावित पार्न सक्ने आकलन गरिएको छ । यसले स्वास्थ्य, कृषि र दैनिक जीवनमा थप चुनौती सिर्जना गर्ने देखिन्छ । सरकारले पूर्वतयारी र जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह गरेको छ ।































