
साउदी अरबमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा कानुनी सहजीकरणमा नेपाली दूतावासले पछिल्लो समय उल्लेखनीय सक्रियता देखाएको छ। जेलमा रहेका, बिरामी तथा विभिन्न समस्यामा परेका श्रमिकको व्यवस्थापनमा निरन्तर पहल भइरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार हाल ५४४ जना नेपाली विभिन्न मुद्दा तथा कानुनी जटिलताका कारण साउदीका जेलमा रहेका छन्। श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेनदेखि आपराधिक अभियोगसम्मका कारण उनीहरू हिरासतमा छन्। दूतावासले नियमित जेल अनुगमन, कानुनी परामर्श र रिहाइ तथा स्वदेश फिर्ताका लागि पहल गरिरहेको छ।
त्यस्तै, गत साउनयता १३० जना नेपाली श्रमिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। हृदयघात, दुर्घटना, आत्महत्या र दीर्घरोग प्रमुख कारण रहेका छन्। शव व्यवस्थापन, कानुनी प्रक्रिया र परिवारसँग समन्वय गरी नेपाल पठाउने काम भइरहेको छ।

स्वास्थ्य समस्यामा परेका २७ जना गम्भीर बिरामीको उद्धार तथा उपचार सहजीकरण गरिएको छ भने केहीलाई स्वदेश फर्काइएको छ। रोजगारदाता कम्पनीसँग समन्वय गर्दै उपचार व्यवस्था मिलाउने कार्य पनि जारी छ।

यसैबीच, १५६४ जना श्रमिकका तलब नपाउने, पासपोर्ट रोक्का, कुटपिट, मानसिक तनावलगायत समस्यामा दूतावासले समाधान प्रक्रिया अघि बढाएको छ। हालसम्म करिब ५०० जनालाई एक्जिट भिसा प्रक्रियामा सहजीकरण गरिएको छ।
दूतावासले ह्वाट्सएप र अनलाइन प्रणालीमार्फत सेवा विस्तार गर्दै दैनिक सयौं गुनासो सम्बोधन गरिरहेको जनाएको छ। पुनः श्रम स्वीकृति, उद्धार र कानुनी सहजीकरणलाई समेत प्राथमिकतामा राखिएको छ।
यसैबीच, “फोन उठ्दैन” भन्ने गुनासोबारे श्रम कन्सुलर कबिराज उप्रेतीले अस्वीकार गर्दै सीमित जनशक्तिका बीच पनि सेवा निरन्तर भइरहेको स्पष्ट पारेका छन्। उनले लाखौं श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सेवा प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।






























