
वर्षायाम सुरु भएसँगै तिब्बतस्थित पवित्र धार्मिक स्थल मानसरोवर कैलाश यात्राका लागि भारतीय तीर्थयात्रीहरूको आवागमन हुम्लामा तीव्र बनेको छ। नेपालगन्जबाट हवाईमार्ग हुँदै सिमकोट र त्यहाँबाट हिल्सा नाका भएर यात्रुहरू तिब्बत प्रवेश गर्ने क्रम बढेको हो।

Simikot Airport का प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि यस वर्षको यात्रा सुरु भएको हो। पछिल्ला चार दिनमा मात्रै १६९ जना तीर्थयात्री सिमकोट पुगेका छन्, जसमा १४७ भारतीय र २२ अन्य देशका नागरिक छन्।
प्रतिकूल मौसमका बाबजुद उडान सेवा निरन्तर सञ्चालनमा छ। शनिबार मात्रै समिट एयरका तीन उडानमार्फत ४७ जना तीर्थयात्री सिमकोट पुगेका थिए।


तर, आइतबार आएका २३ भारतीय तीर्थयात्री चीनको प्रवेश अनुमति (परमिट) समयमै नआएपछि सिमकोटमै रोकिएका छन्। सार्वजनिक बिदा र प्रशासनिक ढिलाइका कारण प्रक्रिया प्रभावित भएको बताइएको छ।
२०७२ सालको भूकम्पपछि हिल्सा नाका हुँदै यात्रा सुरु भए पनि कोरोना महामारीका कारण केही समय बन्द भएको थियो। हाल पुनः अनुमति खुलेसँगै गत वर्ष मात्रै ६ हजारभन्दा बढी भारतीय पर्यटकले हुम्ला मार्ग प्रयोग गरेका थिए। यस वर्ष सुरुवातमै देखिएको चहलपहलले पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ।































