सीमाना विवादले चर्कियो तनाव : बाजुरा–हुम्ला झडपमा प्रहरीसहित पाँच जना घाइते

Image
Nisarga Hospital

बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदा स्थानीयबीच झडप भएको छ । प्रहरी चौकी निर्माण र सीमा निर्धारणको विषयलाई लिएर मंगलबार तनाव बढ्दै जाँदा अवस्था हिंसात्मक बनेको हो ।

CP Hospital Dhangadhi

हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका स्थानीयले उक्त क्षेत्र आफ्नो परम्परागत भोगचलनमा रहेको दाबी गर्दै विरोध जनाएपछि बाजुराका स्थानीयसँग भिडन्त भएको जनाइएको छ । लामो समयदेखि विवादित रहेको सीमाको विषय पछिल्लो समय थप संवेदनशील बनेको स्थानीय प्रशासनले जनाएको छ ।

Attariya Hospital

झडपका क्रममा प्रहरीसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, बिच्छिया प्रहरी चौकीका प्रहरी सहायक हवल्दार महेश धामी र गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् । उनीहरूको ढाड, घाँटी, छाती तथा खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

nawajiwan

यसबीच, ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेपछि तनाव झन् बढेको बताइएको छ । टोलीले ड्रोनमार्फत दृश्य कैद गर्न खोज्दा स्थानीय आक्रोशित बनेका थिए । घटनापछि सञ्चार सम्पर्क अवरुद्ध हुँदा टोलीको अवस्था स्पष्ट हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।