
बाजुरा जिल्ला प्रशासनले आफ्नै क्षेत्रभित्र एक जना जनप्रतिनिधि र थप पाँच जना स्थानीय निर्घात कुटपिटमा परेको घटनाबारे जानकारी नै नभएको पुष्टि भएको छ। जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिका–२ बाट आएका करिब तीन सय जनाले हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष पेमा गारा गुरुङ, उनकी श्रीमतीसहित स्थानीयमाथि आक्रमण गरेका थिए। घटनापछि वडा सदस्यको घरसमेत कब्जा गरिएको र घाइतेहरूलाई उपचारका लागि लैजानसमेत अवरोध गरिएको आरोप छ।

तर जिल्ला प्रहरी कार्यालय बाजुराले उक्त दिनको घटनाबारे औपचारिक विवरण नदिएको र आफूहरूको जानकारीमा नरहेको भन्दै जिम्मेवारी पन्छाएको देखिएको छ। डिएसपी इकवाल हवारीले घटनाबारे स्पष्ट विवरण उपलब्ध नगराएको बताइएको छ। यता प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सम्पर्कमा आउन चाहेनन् भने प्रहरी प्रवक्ता नेरशबहादुर शाहीको नम्बरसमेत बन्द रहेको जनाइएको छ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल र धनगढीका मेयर गोपाल हमालले घटनालाई गम्भीर भन्दै उच्चस्तरीय छानबिनको माग गरेका छन्। उनका अनुसार पूर्वसमन्वयसहित रानीसैन भ्रमणका लागि टोली जेठ २९ गते नै प्रशासनलाई जानकारी गराइएको थियो, तर कुनै सुरक्षा सतर्कता अपनाइएको थिएन।


मेयर हमालले प्रशासनको लापरबाहीका कारण आफूहरूको टोली ठूलो दुर्घटनाबाट जोगिएको दाबी गरेका छन्। उनका अनुसार टोली साइपाल बेसक्याम्प रानीसैनतर्फ जाँदा स्थानीय आक्रोशमा परेर ढुंगामुढासहित लखेटिएको थियो। घटनामा पत्रकारको ड्रोन फुटाइएको, क्यामेरा खोसिएको तथा रिपोर्टिङमा अवरोध गरिएको समेत आरोप छ।
घटनापछि तीन दिनसम्म घाइतेहरूको उद्धार हुन नसक्नु र पछि मात्र हेलिकप्टरमार्फत सुर्खेत पठाइनुले सुरक्षा संयन्त्र कमजोर भएको देखिएको छ। स्थानीयले प्रशासनको मौनता र समन्वय अभावले भविष्यमा अझ ठूला दुर्घटनाको जोखिम बढाएको बताएका छन्।






























