
भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा वृद्धि भई ९२.४९ भारतीय रुपैयाँ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ९ दिनभित्र यो तेस्रो पटक मूल्य वृद्धि हो। यसअघि मे १९ मा औसत ९० पैसा र मे १५ मा प्रतिलिटर ३ रुपैयाँसम्म मूल्य बढाइएको थियो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेसँगै भारतका तेल कम्पनीहरूमा लागत दबाब बढेको बताइएको छ। इरान–अमेरिका तनावलगायत भू–राजनीतिक अस्थिरताका कारण कच्चा तेलको मूल्य प्रतिबारेल ७० डलरबाट बढेर १०० डलरभन्दा माथि पुगेको छ। यही कारण उत्पादन लागत उच्च हुँदा मूल्य समायोजन गर्नुपरेको तेल कम्पनीहरूको भनाइ छ।
भारतमा इन्धनको मूल्य ‘डाइनामिक प्राइसिङ सिस्टम’ अनुसार दैनिक आधारमा समायोजन गरिन्छ। बिहान ६ बजे नयाँ मूल्य सार्वजनिक गर्ने व्यवस्था भए पनि राजनीतिक संवेदनशीलताका कारण लामो समयसम्म मूल्य स्थिर राखिएको थियो। मार्च २०२४ यता स्थिर रहेको मूल्य अहिले पुनः बढ्न थालेको हो।

भारत पेट्रोलियम, इन्डियन आयल र हिन्दुस्तान पेट्रोलियम जस्ता सरकारी कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारको कच्चा तेल मूल्य र डलर–रुपैयाँ विनिमय दरका आधारमा मूल्य निर्धारण गर्छन्। तर उपभोक्तासम्म पुग्दा विभिन्न कर र वितरण खर्च थपिँदा अन्तिम मूल्य अझै उच्च हुने गर्दछ।

नेपालमा पनि असर पर्ने सम्भावना
नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले भारतको मूल्य वृद्धिको प्रत्यक्ष असर नेपालमा पर्न सक्ने देखिन्छ। नेपाल आयल निगमका एक अधिकारीका अनुसार भारतबाट आउने नयाँ खरिद मूल्यसूची उच्च आएमा निगमको लागत बढ्छ र त्यसअनुसार आन्तरिक मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार प्रत्येक १५–१५ दिनमा स्वचालित प्रणालीमार्फत मूल्य समायोजन गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल लामो समयसम्म महँगो रहेमा नेपालमा पनि मूल्य दबाब बढ्ने सम्भावना उच्च छ।
यसैबीच, सरकारले इन्धन खपत नियन्त्रण गर्न शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ। विशेषज्ञहरूका अनुसार विश्व बजारको अस्थिरता जारी रहेमा निकट भविष्यमा इन्धन मूल्य अझै बढ्न सक्ने जोखिम कायमै छ।































