भकुण्डामा गंगादशहरा मेला सुरु, ४ सय स्टल र कडा नियमसहित धार्मिक–सांस्कृतिक उत्सव

Image
Nisarga Hospital

कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा आजदेखि गंगादशहरा मेला सुरु भएको छ। प्रत्येक वर्ष ज्येष्ठ महिनाको दशमी तिथिमा लाग्ने यो मेला जेठ १५ गतेसम्म नक्टाबाबा (कालेश्वर मन्दिर) परिसरमा सञ्चालन हुनेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यस मेलामा नेपालसहित भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन मन्दिर दर्शनका लागि आउने गरेका छन्। यस वर्ष मेलामा करिब ४ सयभन्दा बढी स्टलहरू राखिएको छ, जसमा विभिन्न व्यापारिक सामग्री तथा खानपानका परिकार उपलब्ध छन्।

आयोजकका अनुसार सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक खेलहरू पनि सञ्चालन गरिनेछ। विगतमा विवादित बनेको आइटम डान्स यस वर्ष पनि रहने तर अश्लील गीतमा नृत्य नहुने कालेश्वर मन्दिर समितिका अध्यक्ष विश्राम रानाले बताएका छन्।

यसैबीच, मेलामा जुवा–तास, ट्याटु खोप्ने कार्य तथा माछा–मासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। मेला सञ्चालनको अवसरमा बेलौरी नगरपालिकाले भोलि जेठ १२ गते सार्वजनिक बिदा समेत दिएको छ। धार्मिक आस्था, सांस्कृतिक विविधता र व्यापारिक गतिविधिको संगमका रूपमा यो मेला विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।