
विद्युत् खपत बढेसँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ। देशभर करिब ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ भने सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढेसँगै एलपी ग्यासको खपत घटिरहेको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पेट्रोलको खपत १० प्रतिशत र डिजेलको खपत ९.९ प्रतिशतले घटेको छ। विद्युत् उत्पादन र जडित क्षमता विस्तारसँगै पेट्रोलियम आयातमा निर्भरता घट्ने संकेत देखिएको छ। हाल मुलुकको कुल जडित क्षमता ४,१०५ मेगावाट पुगेको छ, जसमा जलविद्युत् मात्र ३,७९८ मेगावाट रहेको छ। यस अवधिमा भारततर्फ २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात गरिएको छ।

यद्यपि कर्णाली र सुदूरपश्चिमका केही गाउँपालिकामा अझै विद्युत् पहुँच पुग्न बाँकी छ। गुणस्तरीय सेवा विस्तार चुनौतीका रूपमा रहेको छ। खानेपानीतर्फ ९७ प्रतिशतमा आधारभूत पहुँच पुगे पनि सुरक्षित खानेपानी २९ प्रतिशतमा सीमित छ। स्वास्थ्य बिमा सबै स्थानीय तहमा विस्तार भएको छ भने सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत छन्।

































