
डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुनमगर र स्थानीय तीर्थबहादुर थापा मगर सोमबार मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ।

मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा थापाको शव नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरतर्फ पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

































