
मुस्ताङको कोरला नाका हुँदै अवैध कागजातका आधारमा भित्र्याइएको आशंकामा ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। प्राप्त सूचनाका आधारमा सीमा क्षेत्रमा निगरानी बढाइएपछि ती गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्। हाल ती सवारीसाधन भन्सार कार्यालयका कर्मचारीले विस्तृत परीक्षण तथा कागजात छानबिन गरिरहेका छन्।

व्यवसायी पक्षले भने नियन्त्रणमा लिइएका गाडीहरू कर दर वृद्धि हुनुअघि नै वैधानिक रूपमा आयात गरिएको दाबी गरेका छन्। तर सशस्त्र प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा कर छल्ने उद्देश्यले पहिले नै ल्याइएको जस्तो देखिने कागजात तयार गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ।

उक्त सवारीसाधन म्याग्दीको सिमानासम्म पुगिसकेका बेला बुधबार राति नियन्त्रणमा लिइएको हो। घटनापछि सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ भने आयात प्रक्रिया र कागजातको वैधतामाथि थप अनुसन्धान अघि बढाइएको छ।

































