
कुवेत र बहराइनले इरानद्वारा आफ्ना देशमाथि गरिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको कडा निन्दा गरेका छन्। दुवै देशले उक्त आक्रमणलाई आफ्नो सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डतामाथिको ठाडो उल्लङ्घन भएको भन्दै क्षेत्रीय स्थिरताका लागि गम्भीर खतरा भएको बताएका छन्।

कुवेतको विदेश मन्त्रालयले आक्रमणले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको जनाएको छ। मन्त्रालयले कुनै पनि बहानामा यस्तो आक्रमणलाई उचित ठहर गर्न नसकिने स्पष्ट पारेको छ।

त्यस्तै, बहराइनले पनि खाडी क्षेत्रको सुरक्षा र स्थायित्वमा खतरा उत्पन्न भएको उल्लेख गर्दै इरानलाई आक्रमण रोक्न र स्ट्रेट अफ हर्मुजमा निर्बाध समुद्री आवागमन सुनिश्चित गर्न आग्रह गरेको छ।

यसअघि इरानको इस्लामिक रिभोलुसन गार्ड कोर (आईआरजीसी) ले कुवेतस्थित अली अल सलेम एयर बेस र बहराइनमा रहेको अमेरिकी ‘फिफ्थ फ्लीट’ मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको थियो। अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप गरिएको भनिएको यस घटनाले मध्यपूर्वमा तनाव थप चर्काएको छ।
































