
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको सामुदायिक विद्यालय समैजी मा.वि का विद्यार्थी जीवन भट्टले शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै चारवटा प्रतिष्ठित संस्थामा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन्।

भट्टले सुदूरपश्चिम प्रदेशअन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को स्वास्थ्य सहायक (एच.ए.) कार्यक्रमका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसैगरी, काठमाडौं महानगरपालिकाको कक्षा ११ विज्ञान कार्यक्रम, धनगढी उपमहानगरपालिकाको कक्षा ११ विज्ञान कार्यक्रम तथा खप्तड कलेजको छात्रवृत्तिमा समेत छनोट हुन सफल भएका छन्।


विभिन्न संस्थाले सञ्चालन गरेका प्रवेश परीक्षाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनले खप्तड कलेजलगायतका शैक्षिक संस्थाहरूमा शीर्ष स्थानसमेत हासिल गरेका छन्। उनको सफलता निरन्तर मेहनत, अनुशासन, लगनशीलता र अध्ययनप्रतिको समर्पणको प्रतिफल भएको विद्यालयले जनाएको छ।

जीवन भट्टको यस उपलब्धिले समैजी माध्यमिक विद्यालय, कृष्णपुर नगरपालिका तथा समग्र क्षेत्रको शैक्षिक प्रतिष्ठा बढाएको छ। उनको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
































