
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको प्रथम जिल्ला अधिवेशनले भिम नाथको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। पाटनमा सम्पन्न अधिवेशनले नाथलाई पुनः सभापतिमा चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।

रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)का अनुसार विभिन्न पदमा धेरै आकांक्षी भए पनि आपसी छलफल र सहमतिमार्फत कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

नयाँ कार्यसमितिको उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी तथा सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश बिष्ट र बबिता साउँद रहेका छन्। कोषाध्यक्ष पदमा भने पछि कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ।

नवनिर्वाचित सभापति भिम नाथले पार्टी संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बैतडीमा रास्वपाको संगठनलाई थप बलियो, सक्रिय र चुस्त बनाउँदै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउन आफूहरू लागिपर्ने बताए। अधिवेशनले जिल्लामा पार्टीको संगठनात्मक आधार विस्तार गर्ने अपेक्षा गरिएको छ।
































