
अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ र ६ मा जग्गा नापनक्सा कार्य सुरु गरिएको छ। सोमबार नगर प्रमुख हेमराज ओझाले औपचारिक रूपमा नापनक्सा कार्यको उद्घाटन गरेका हुन्।


नगर प्रमुख ओझाले अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनलाई प्राथमिकतामा राखेर केही महिनामै आवश्यक सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए। उनले नापनक्सा प्रक्रियामा कुनै विवाद नगरी मापदण्डअनुसार सहयोग गर्न स्थानीयलाई आग्रह गरे।
भूमि समस्या समाधान आयोग र सम्बन्धित निकायको समन्वयमा सञ्चालन भएको नापनक्सा कार्यले लामो समयदेखि लालपुर्जाविहीन रूपमा बसोबास गरिरहेका स्थानीयलाई जग्गाधनी प्रमाणपत्र प्राप्त हुने अपेक्षा गरिएको छ।

अत्याधुनिक उपकरण प्रयोग गरी प्राविधिक टोलीले नापनक्सा कार्य अघि बढाएको छ। नगरपालिकाले सम्बन्धित वडाका बासिन्दालाई आवश्यक कागजातसहित सहभागिताका लागि आग्रह गरेको छ।
स्थानीयवासीले वर्षौंदेखिको प्रतीक्षापछि नापनक्सा सुरु हुँदा जग्गा व्यवस्थापन र लालपुर्जा वितरणको बाटो खुलेको बताएका छन्। स्थानीय सुरेश बिकका अनुसार यसले दीर्घकालीन समस्या समाधानमा सकारात्मक प्रभाव पार्नेछ। नगरपालिकाले कार्यलाई प्रभावकारी बनाउन स्थानीयको सहयोग अपरिहार्य रहेको जनाएको छ।





































