
अत्तरियाः बैतडीको पाटन नगरपालिका–८ खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक कर्मकाण्ड गर्दै सामाजिक कुरीति हटाउने अभियान चलाउँदै आएका छन्। उनले सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा र गृहप्रवेशजस्ता ४११ भन्दा बढी धार्मिक कार्य सम्पन्न गरिसकेका छन्।

पन्तका अनुसार उनले हालसम्म ३७ सप्ताह, २३ शिवपुराण, २८७ लघुरुद्राभिषेक, १८१ महारुद्राभिषेक, ६७५ सत्यनारायण पूजा, ५८३ ग्रहशान्ति, २९ शतचण्डी र ५५ अखण्ड रामायणलगायतका कर्मकाण्ड सम्पन्न गरेका छन्। उनी श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारी पनि हुन्।

उनले आचार्य कृष्ण दमाईँसहित १,३७५ शिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेका छन् भने २९९ दलित महिलालाई दुग्धधागो धारण गराएको बताएका छन्। उनका अनुसार धर्मशास्त्रमा कुनै जातीय वा लैङ्गिक विभेद उल्लेख छैन।

पन्तले सुदूरपश्चिममा अझै दलित बस्तीमा ब्राह्मण पुरोहित नजाने, चिहानघाटसम्म विभेद हुने जस्ता समस्या रहेको भन्दै त्यसलाई अन्त्य गर्न धार्मिक अगुवाको भूमिका आवश्यक रहेको बताए। उनले भने, “दलितको घरमा पुगेर कर्मकाण्ड गर्दा सामाजिक सन्देश दिन खोजेको हुँ।”
सामाजिक सञ्जालमा आलोचना र गालीगलौज भए पनि आफू अभियानबाट विचलित नभएको उनको भनाइ छ। यस क्रममा उनका ५७५ पुराना यजमान छुटेका छन्।
उनले प्रत्येक हिन्दू घरमा वेद, पुराण, तुलसी, शालिग्राम र पाञ्चायन देवताको स्थापना गराउने लक्ष्य राखेका छन्। साथै, धार्मिक क्षेत्रमा समावेशी पूजा–पाठ आवश्यक रहेको उनको जोड छ।


































