
वर्षौँदेखि रासायनिक मलमा निर्भर रहेका किसानहरू अहिले गड्यौला मल उत्पादन र प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। माटोको उर्वराशक्ति जोगाउने, उत्पादनको गुणस्तर सुधार्ने तथा अतिरिक्त आम्दानीको स्रोत बन्न थालेपछि गड्यौला मलप्रति किसानको चासो उल्लेखनीय रूपमा बढेको हो।

यसैलाई मध्यनजर गर्दै शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत निड्स नेपालको सहकार्यमा २५ जना किसानलाई तीनदिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गरेको छ। तालिममा गड्यौला मल उत्पादन विधि, यसको महत्त्व, व्यावसायिक सम्भावना र बजारीकरणका विषयमा जानकारी दिइएको थियो।
प्रशिक्षक तथा गड्यौला मल उत्पादक वीरबहादुर हमालका अनुसार रासायनिक मलको अत्यधिक प्रयोगले माटोको गुणस्तर घटाउँदै लगेकाले जैविक खेतीलाई प्रोत्साहन गर्न आवश्यक छ। गड्यौला मलमा बिरुवाका लागि आवश्यक १३ प्रकारका पोषक तत्व पाइने र यसले माटोको संरचना सुधार्नुका साथै उत्पादन क्षमता वृद्धि गर्ने उनले बताए।


नगरपालिकाले शुक्लाफाँटा–९ स्थित सामुदायिक गौशालामा २८ वटा गड्यौला मल उत्पादन पिट निर्माण गरी व्यावसायिक उत्पादनको योजना अघि बढाएको छ। सहभागी किसानहरूले पनि घरमै गड्यौला मल उत्पादन गरी प्रयोग र बिक्री गर्ने योजना बनाएका छन्।
स्थानीय तह र सरोकारवाला संस्थाहरूले गड्यौला मललाई दिगो कृषि, वातावरण संरक्षण तथा किसानको आम्दानी वृद्धि गर्ने प्रभावकारी माध्यमका रूपमा अघि बढाउँदै आएका छन्।































