
इरानको रिभोलुसनरी गार्डले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै कारबाही गरिएको दाबी गरेको छ। इरानी समाचार संस्था इरनाले जनाएअनुसार इरानको एयरोस्पेस फोर्स र नौसेनाका लडाकु विमानहरूले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएका हुन्।

दाबी अनुसार अली अल-सलेम, अहमद अल-जबेर र शेख इसा एयर बेससहित १८ वटा महत्वपूर्ण अमेरिकी सैन्य अड्डामा आक्रमण गरिएको उल्लेख छ। तर यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हालसम्म भएको छैन। कुवेतको जनरल स्टाफले भने हवाई रक्षा प्रणाली सक्रिय रहेको र शत्रुका हवाई लक्ष्यहरूलाई अवरोध गरिएको जनाएको छ। सेनाले नागरिकलाई आधिकारिक निर्देशन पालना गर्न आग्रह गरेको छ।

सुरक्षा अवस्था मध्यनजर गर्दै संवेदनशील क्षेत्रहरूमा सतर्कता बढाइएको बताइएको छ। कुवेती सेनाले अफवाहभन्दा आधिकारिक स्रोतमा मात्र विश्वास गर्न आग्रह गरेको छ। बीबीसी फारसीका अनुसार आक्रमणसम्बन्धी तनावपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। घटनाले मध्यपूर्व क्षेत्रमा पुनः भूराजनीतिक तनाव चुलिएको संकेत गरेको छ। यसले घटनाले पछिल्ला महिनामा इरान र पश्चिमी शक्तिहरूबीच बढ्दै गएको तनावलाई थप जटिल बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

मध्यपूर्वका तेल आपूर्ति मार्ग र सैन्य गठबन्धनमा यसको प्रभाव पर्न सक्ने अनुमान पनि गरिएको छ। सुरक्षा निकायहरूले स्थिति निरन्तर निगरानी गरिरहेको जनाएका छन् र थप विवरण आउन बाँकी रहेको बताइएको छ। आधिकारिक पुष्टि भए पछि मात्र निष्कर्ष निकाल्न पनि आग्रह गरिएको छ।
































