चर्को गर्मीले जनजीवन प्रभावित, गौशालामा ५ दिन सबै विद्यालय बन्द

Image
Nisarga Hospital

महोत्तरीको गौशाला नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर देखिएपछि नगर क्षेत्रभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले यो निर्णय गर्दै शुक्रबारदेखि सोमबारसम्म सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालयमा पठनपाठन स्थगित गर्ने जनाएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीका अनुसार पछिल्ला दिनमा निरन्तर बढ्दो तापक्रमले जनजीवन प्रभावित हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्य जोखिममा परेको छ। नगर शिक्षा शाखा प्रमुख सञ्जयकुमार सिंहले नगर क्षेत्रको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेको र विद्यार्थीहरू बिरामी पर्न थालेको जानकारी दिए।

गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मात्र हालसम्म २० जना छात्रा गर्मीका कारण बेहोस भइसकेका छन्। विद्यालयमा बिहीबार पनि पाँच जना छात्रा अचेत भएपछि प्राथमिक उपचार गरी अभिभावकको जिम्मा लगाइएको प्रधानाध्यापक रामस्नेही यादवले बताए।

nawajiwan
Attariya Hospital

नगर स्वास्थ्य शाखाको अनुगमनअनुसार साँघुरा कक्षाकोठा, भेन्टिलेसनको कमी, जस्तापाताको तातो छाना तथा केही विद्यार्थी भोकै विद्यालय आउने अवस्थाले समस्या थपिएको छ। नगरमा ३१ सामुदायिक, ३० संस्थागत र ७ धार्मिक गरी ६८ विद्यालयमा २० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

यसअघि छिमेकी बर्दिबास नगरपालिकाले पनि गर्मीका कारण ८२ विद्यालयमा दुई दिन बिदा दिइसकेको छ। लगातारको तातो लहरले तराई क्षेत्रका अन्य जिल्लामा पनि असर देखिन थालेको छ।