
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द गरिएको घोषणा गर्दै दुई देश युद्ध अन्त्यतर्फ प्रारम्भिक सम्झौताको नजिक पुगेको दाबी गरेका छन्। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा “ठूलो सम्झौता” नजिक पुगेको बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत पनि आक्रमण रद्द गरिएको जानकारी दिएका थिए।

तर इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौतासम्बन्धी दाबीलाई “अनुमानित” भन्दै अहिलेसम्म कुनै ठोस सहमति नभएको स्पष्ट पारेका छन्। केही घण्टा अघि मात्र ट्रम्पले इरानमाथि कडा सैन्य कारबाहीको चेतावनी दिएका थिए।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणपछि तनाव चर्किएको थियो। त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रमा जवाफी आक्रमण गरेको थियो भने ‘स्ट्रेट अफ हर्म्युज’ बन्द गरेको थियो। अप्रिलको युद्धविरामपछि पनि छिटपुट झडप जारी रहेको छ।

ट्रम्पको पछिल्लो सकारात्मक अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। उनले इरानले आणविक हतियार विकास गर्न नपाउने सहमति भएको दाबी गर्दै यसलाई ठूलो उपलब्धि बताएका छन्।































